२५ बैशाख २०८२ , बिहीबार

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

News
२५ बैशाख, काठमाण्डौँ ।

काठमाडौँसहित देशका विभिन्न चार स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार यी दुर्घटनाहरू बिहीबार बिहान र बुधबार साँझ तथा राति भएका हुन् ।

काठमाडौँमा बसको ठक्करबाट एक महिलाको मृत्यु

राजधानीको तीनकुनेस्थित सडकमा बिहीबार बिहान बा.३ ख ७०६२ नम्बरको बसले बा.प्र.०१-०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर धोबीघाट बस्ने नुवाकोट घर भएकी २३ वर्षीया नगिना तामाङ रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

महोत्तरीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु

यसैगरी, महोत्तरीको पिपरा गाउँपालिका-६ रतौलीस्थित सडकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भमरपुराबाट जनकपुरतर्फ जाँदै गरेको ना.६ त ४८१६ नम्बरको ट्याक्टरमा प्र.२-०२-००१ प ७०८१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक महोत्तरी गाउँपालिका-३ मडै बस्ने ७० वर्षीय शिवशरण यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रूपन्देहीमा मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङगानगरस्थित सडकमा बुधबार राति भएको अर्को दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । डिङगानगरबाट ड्राईभरटोलतर्फ जाँदै गरेको लु.५५ प ७५१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४३ वर्षीय हरि थापा मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको जनाइएको छ ।

कपिलवस्तुमा दुई ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

कपिलवस्तुको वाणगंगा नगरपालिका-८ श्रृङघाटखोलास्थित सडकमा बुधबार बेलुकी दुई ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । श्रृङघाटखोलाबाट मधुवनतर्फ आउँदै गरेको लु.४ त १६२६ नम्बरको ट्याक्टरमा लु.२ त ४४१६ नम्बरको ट्याक्टर ठक्कर खाँदा लु.२ त ४४१६ नम्बरको ट्याक्टरमा सवार सोही नगरपालिका-४ कालाबन्जर बस्ने ५५ वर्षीय लोखै थारूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको युनाइटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको थियो । सोही ट्याक्टरमा सवार अन्य तीन जना घाइतेहरूको पनि युनाइटेड अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले लु.२ त ४४१६ नम्बरको ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने फरार रहेका लु.४ त १६२६ नम्बरको ट्याक्टर चालकको खोजी कार्य जारी राखेको छ ।

प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।