२० फाल्गुन २०८२ , बुधबार

देशभर चिसो बढ्यो : न्यूनतम तापक्रममा गिरावट जारी

News
२२ पुष, काठमाण्डौँ ।

सोमबार नेपालका विभिन्न भेगमा यस वर्षको जाडो सुरु भएयताकै सबैभन्दा न्यूनतम तापक्रम रेकर्ड गरिएको छ। न्यूनतम तापक्रममा गिरावट आएसँगै देशभर चिसो बढेको महसुस भएको छ। यसका साथै स्वास्थ्य जोखिम बढेकाले सरकारले नागरिकमा सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुम्लामा सोमबार माइनस ६.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ। आइतबार पनि त्यहाँको न्यूनतम तापक्रम सोही स्तरमा रहेको थियो। हालसम्मको सरदर न्यूनतम तापक्रम ४.९ डिग्री सेन्टिग्रेड रहेको विभागले जनाएको छ। त्यसैगरी जोमसोममा माइनस ४.२, जिरीमा माइनस १.१ डिग्री न्यूनतम तापक्रम रेकर्ड भएको छ।

काठमाडौँलगायत पहाडी भेगमा पनि न्यूनतम तापक्रममा उल्लेखनीय गिरावट आएको छ। शनिबार ४.७ डिग्री रहेको काठमाडौँमा आइतबार ४ डिग्री र सोमबार ३.५ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम मापन गरिएको छ। मौसमविद् डेबिड ढकालका अनुसार यो यस दिनको सामान्य सरदरभन्दा कम नहुनसक्ने भए पनि हालसम्मको न्यूनतम तापक्रम हो। डडेलधुरामा २.१, दिपायलमा ४.४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ।

पूर्वी तराईको तुलनामा पश्चिमी तराईमा चिसो बढी बढेको छ। भैरहवामा न्यूनतम तापक्रम घटेर ७.४ डिग्री सेन्टिग्रेड पुगेको छ। नेपालगन्ज र घोराहीमा ६.८, धनगढीमा ६.२ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ। पूर्वी तराईमा भने न्यूनतम तापक्रम केही बढेको छ। विराटनगरमा सोमबार न्यूनतम तापक्रम १३.१ डिग्री, झापाको चन्द्रगढीमा १३.३ डिग्री पुगेको छ। जनकपुर र सिमरामा तापक्रम यथावत्कै रहेको छ।

चिसो बढेसँगै तराई क्षेत्रमा हुस्सु र कुहिरोको तह बढ्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले नागरिकमा सचेत रहन अनुरोध गरेको छ।

सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस अवस्थाप्रति विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। दीर्घरोगी, मुटु तथा दमरोगी, गर्भवती तथा सुत्केरी महिला, वृद्धवृद्धा र साना बालबालिकाले विशेष ध्यान दिनुपर्ने महत्त्वपूर्ण सूचनामा समावेश छ।

नागरिकहरूलाई घरभित्रै न्यानोपन कायम राख्न, विद्यालय पठाउँदा न्यानो कपडा लगाउन र खानपानमा ध्यान दिन आग्रह गरिएको छ। कामकाजी व्यक्तिहरूले पनि तातो पेय पदार्थ र झोलिलो खानेकुरा सेवन गरी चिसोबाट जोगिन आवश्यक उपाय अपनाउनुपर्ने बताइएको छ।

साथै, वर्षा नहुँदा काठमाडौँलगायत स्थानमा वायु प्रदूषण उच्च रहेको कारण मास्क लगाएर मात्रै बाहिर यात्रा गर्न सिफारिस गरिएको छ। चिसो र वायु प्रदूषणले श्वासप्रश्वास तथा घाँटीसम्बन्धी स्वास्थ्यमा असर गर्न सक्ने भएकाले सबै नागरिकमा सचेतना आवश्यक रहेको विभागले उल्लेख गरेको छ।