दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा आज बिहान भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ। लटिनाथबाट सार्सी जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा ज्यान गुमाउने व्यक्ति गाडीका धनी ३४ वर्षीय करबिर सिंह ठगुन्ना भएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ। उनी गाडीको बीच सिटमा बेहोस अवस्थामा फेला परेका थिए। उद्धार गरी स्वास्थ्य चौकी पुर्याइए पनि स्थानीयका अनुसार उनको घटनास्थलमै मृत्यु भइसकेको थियो।
प्रहरीका अनुसार जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो। हालसम्म गाडी कसले चलाएको हो भन्ने स्पष्ट नभएको र चालक फरार रहेको बताइएको छ।
इलाका प्रहरी कार्यालय लटिनाथका प्रमुख जंगबहादुर चन्दका अनुसार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी छ।