६ बैशाख २०८३ , आईतवार

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुरमाथि कारबाही, पार्टी साधारण सदस्यताबाट निष्कासन

News
३० पुष, काठमाण्डौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै उहाँहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको हो।

कांग्रेस नेता मीन विश्वकर्माका अनुसार बुधबार सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन आह्वान र त्यससँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोपमा उक्त निर्णय गरेको हो। बैठक पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो।

संस्थापन पक्षको आरोपअनुसार महामन्त्रीद्वय र सहमहामन्त्री मन्सुरले पार्टीको नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशन आह्वान गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाएर पार्टी अनुशासन उल्लङ्घन गरेका हुन्। यस कार्यले पार्टी विधान, नियमावली तथा आचारसंहिताको ठाडो उल्लङ्घन गरेको निष्कर्ष केन्द्रीय कार्यसमितिले निकालेको जनाएको छ।

विशेष महाधिवेशनमार्फत सभापतिमा गगन थापा तथा महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको भन्दै संस्थापन पक्ष असन्तुष्ट रहेको छ। केन्द्रीय समितिको पछिल्लो निर्णयसँगै नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको दिशातर्फ उन्मुख भएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

यसैबीच, काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि जारी विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गर्ने गृहकार्य भइरहेको जनाइएको छ।