कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुले बेलुकी अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने परम्परा पालना गरिरहेका छन्।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतका अनुसार द्रोपदीसहित पाँच पाण्डवले अज्ञातवासका क्रममा सूर्यदेवको आराधना गरेका थिए। सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूर्यले पनि यस व्रत गरेर सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्।
सूर्यको किरणवाट स्वास्थ्य लाभ, रोगमुक्ति र जीवनमा समृद्धि प्राप्त हुने विश्वास छ। साम्व पुराणमा वर्णित अनुसार सूर्यको आराधनाले कुष्ठरोग जस्ता रोगबाट मुक्ति पाइन्छ। छठ व्रतले व्रतालुका परिवार र सन्तानको भलो हुने विश्वास पनि रहेको छ।
व्रतविधि अनुसार पहिलो दिन स्नान गरी एक छाक खाएर व्रत बसिन्छ। दोस्रो दिन खरना गरेर फलाहार ग्रहण गरिन्छ। मुख्य दिन षष्ठीका दिन कठोर निराहार व्रत गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। त्यसपछि रातभर जागा बसेर सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइर यस पर्वको समापन गरिन्छ।
पर्वको अवसरमा राजधानीको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, बागमती, नख्खु र विष्णुमती नदी किनारमा विशेष सजावट गरिन्छ। व्रतालुहरू शुद्ध भोजन र सात्विक आहार ग्रहण गरी व्रत पालना गर्छन्। विसं २०४६ अघि तराईमा सीमित मात्रामा मनाइने छठ पर्व अहिले राष्ट्रिय रुपमा मनाइन्छ र सरकारी छुट्टीको व्यवस्था छ।