नेपाली फुटबलको इतिहास भएको 'स्वर्णकथा नेपाली फुटबलको' भन्ने किताब सार्वजनिक भएको छ। खेल पत्रकार हिमेशरत्न बज्राचार्यले लेखेको यो किताब आज नेपाली फुटबल टिमका पूर्वकप्तान राजुकाजी शाक्यले सार्वजनिक गरे।
बुकहिलले छापेको यो किताबमा नेपाली फुटबल सुरु भएदेखिको १०० वर्षको इतिहास छ। किताबमा नेपालले १९८४ र १९९३ सालमा दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका बेलाका कुराहरू पनि छन्।
नेपाली फुटबलको इतिहास लेखिएको यो पहिलो नेपाली किताब हो। अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले लेखकले फुटबलका कुराहरूलाई राम्रोसँग लेखेको र यो किताब नेपाली फुटबलको पहिलो प्रमाण भएको बताए।
बुकहिलका भूपेन्द्र खड्काले फुटबलमा मन हुने सबैले र स्कुलका विद्यार्थीले पनि यो किताब पढेर धेरै कुरा थाहा पाउने बताए।
दौडने खेलाडी सन्तोषी श्रेष्ठले सबैतिर साहित्य महत्त्वपूर्ण हुने भन्दै नेपाली खेलकुदमा पनि खेलको साहित्य लेख्नुपर्ने बताइन्। उनले लेखक बज्राचार्यको नाममै रत्न छ र रत्नले लेखेको कथा पनि रत्न जस्तै राम्रो छ भनिन्।
लेखक बज्रचार्यले किताब लेख्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनी सानैदेखि फुटबलको समर्थक भएको र पछि फुटबलको बारेमा लेख्न थालेकाले किताब निकाल्ने सपना पूरा भएको बताए।