१३ बैशाख २०८२ , शनिबार

दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ : चलचित्र भवनमा दर्शक प्रतिक्रिया लिने शैलीमा बहस

News
१२ बैशाख, काठमाण्डौँ ।

पछिल्लो समय चलचित्र प्रदर्शन भइरहेको समयमा निर्माता, निर्देशक र कलाकारसहित मिडियाकर्मी चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिने क्रम बढेको छ। दर्शकको प्रतिक्रियाले चलचित्रको व्यापार बढ्ने अपेक्षासहित यसलाई निरन्तरता दिइएको छ। तर, केही दिनअघि एक दर्शकले चलचित्र भवनभित्र चलचित्र हेरिरहँदा क्यामेरा ल्याएको भन्दै आपत्ति जनाएपछि यो शैली सही हो कि गलत भन्ने विषयमा बहस सुरु भएको छ।

यो शैली प्रदर्शक अर्थात् चलचित्र भवन सञ्चालकलाई पनि मन परेको छैन। तर यसलाई निर्माताले ‘पब्लिसिटीको पार्ट’ भनेपछि प्रदर्शकले केही गर्न सकेका छैनन्। निर्देशक निश्चल बस्नेतले दर्शकलाई भेट्न कलाकार जानु गलत नभए पनि गोपनीयताका बारेमा सचेत हुनु जरुरी रहेको बताएका छन्। अहिलेको शैलीमा परिमार्जन गरेर दर्शक प्रतिक्रिया लिन सकिने उनको भनाइ छ। "हाम्रो चलचित्र हेर्न आएका दर्शकलाई भेटेर हाम्राबारेमा गरिएका समीक्षा धेरै ठाउँमा पुगोस् भनेर चलचित्र भवन पुग्ने गरेका छौँ। यदि हाम्रो त्यही कुराले दर्शकलाई असर गरेको छ भने हामी सचेत हुनुपर्छ, किनकि दर्शक दुःखी बनाएर चलचित्रकर्मी खुसी हुन सक्दैनौँ," उनले भने।

उनले आफ्नो पहिलो चलचित्र ‘लूट’ को समयमा आफूसहित अभिनेता सौगात मल्ल र दयाहाङ राई काठमाडौँका विभिन्न चलचित्र भवन डुलेको स्मरण गर्दै अहिले मिडिया र क्यामेरा पनि साथमा हुने भएकाले दर्शकले प्रश्न उठाएको हुनसक्ने र यसमा सच्चिनुपर्ने बताए। अभिनेत्री स्वस्तिमा खड्काले आफूले यसबारेमा निर्माता तथा निर्देशकसँग छलफल गर्ने गरेको बताउँदै चलचित्र हेरेर निस्किने इच्छुक दर्शकले भेट्न मिल्ने वा प्रतिक्रिया दिन मिल्ने गरी छुट्टै स्थान बनाएर बस्नुपर्ने धारणा राखिन्।

यता, प्रदर्शक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यस विषयमा प्रदर्शकबीच सल्लाह भइरहेको जानकारी दिए। "दर्शकको गुनासो हामीले पनि सुनिरहेका छौँ। निर्माण पक्षले यसलाई प्रचारप्रसार भनेपछि हामीले पनि सहजता दिएका हौँ। दर्शक पनि कलाकार भेट्दा खुसी नै भएको पाएका छौँ। अब यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौँ," उनले भने।