विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा जित हासिल गरेसँगै लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो ।
सुदूरपश्चिम यसअघि नै पहिलो क्वालिफायरमा विराटनगरलाई हराएर लगातार दोस्रो पटक फाइनलमा पुगिसकेको छ । लुम्बिनीले प्रस्तुत गरेको १३५ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो । विराटनगरको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्न लुम्बिनीका बलरहरू हाबी भए ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरको सुरुवात निकै खराब रह्यो । लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावरप्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगर ६–३ र ३०–४ को नाजुक अवस्थामा पुगेको थियो ।
विराटनगरका लागि साम हिजलेट र मर्चेन्ट डे लाङले २८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन् । हिजलेटले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए भने डे लाङले १७ रन जोडे । यस्तै, नरेन भट्टले २१ रन बनाए पनि अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ लुम्बिनीका तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । निकै किफायती बलिङ गरेका रुबेन ट्रम्पलम्यानले ३ ओभरमा ९ रन मात्र दिएर २ विकेट हात पारे । अभिशेष गौतम र जेजे स्मिथले पनि २–२ विकेट लिँदा शेर मल्लले १ विकेट आफ्नो नाममा लेखाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनको योगफल तयार पारेको थियो ।
सुरुवातमा ८ रनमै पहिलो विकेटका रूपमा दिनेश अधिकारी (१ रन) लाई गुमाएको लुम्बिनीको इनिङ्स ओपनर डार्शी सर्ट र कप्तान रोहित पौडेलले सम्हालेका थिए । उनीहरूबीच दोस्रो विकेटका लागि ६९ रनको महत्त्वपूर्ण साझेदारी भयो ।
लुम्बिनीका लागि डार्शी सर्टले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए । कप्तान रोहित पौडेलले ३० बलमा २ चौका र २ छक्कासहित ३४ रनको योगदान दिए ।


