भारतले बुधबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा रहेका ९ आतंककारी ठेगानामा हवाई हमला गरेको छ । पहलगाममा भएको आतंककारी हमलाको १५ दिनपछि ‘अपरेसन सिन्दूर’ अन्तर्गत करिब १:३० बजे यो हमला गरिएको हो ।
भारतीय स्रोतका अनुसार बहावलपुर, मुरिदके, बाघ, कोटली र मुजफ्फराबाद जस्ता स्थानमा रहेका आतंककारी संगठनका आधार शिविरहरूलाई निशाना बनाइएको थियो । भारतले यी स्थानहरूबाट भारतमाथि आतंककारी हमलाको योजना र कार्यान्वयन भइरहेको दाबी गरेको छ ।
पाकिस्तानी सञ्चार माध्यमका अनुसार बहावलपुरमा भएको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदका मुख्यालयहरू पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ ।
पाकिस्तानी सेनाको अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा मिसाइल प्रहार गरेको पुष्टि गरेका छन् । एएनआईका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर ‘अपरेशन सिन्दूर’को प्रत्यक्ष निगरानी गरेका थिए ।
भारतीय सेनाले पाकिस्तानी सैन्य ठेगानालाई निशाना नबनाई केवल आतंककारी ठेगानालाई लक्षित गरिएको स्पष्ट पारेको छ । एएनआईका अनुसार यो भारतीय सेना र वायु सेनाको संयुक्त सैन्य अभियान हो र यसमा सटीक हतियार प्रयोग गरिएको छ ।
हमलापछि पाकिस्तानी मिडिया र सरकारबाट फरक-फरक दाबीहरू आएका छन् । रक्षा मन्त्री ख्वाजा आसिफले भारतले आफ्नै हवाई सीमाबाट पाकिस्तानमाथि मिसाइल हमला गरेको र ती सिधै नागरिक इलाकामा खसेको आरोप लगाएका छन् । सरकारी न्यूज च्यानल पीटीभी न्यूजले हमलाका क्रममा पाकिस्तानी सेनाले २ भारतीय लडाकु विमान खसालेको र मस्जिदहरूलाई पनि निशाना बनाइएको दाबी गरेको छ । आईएसपीआरले ८ नागरिक मारिएको र ३५ घाइते भएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई "लज्जास्पद" भन्दै चिन्ता व्यक्त गरेका छन् । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले स्थितिमाथि गहिरो नजर राखिरहेको र शान्तिपूर्ण समाधानका लागि भारतीय र पाकिस्तानी नेतृत्वसँग कुराकानी जारी राख्ने बताएका छन् ।
यो हवाई हमला २२ अप्रिलमा कश्मीरको पहलगाममा भएको आतंककारी हमलाको प्रतिक्रिया स्वरूप भएको हो, जसमा एक नेपालीसहित २६ पर्यटक मारिएका थिए ।
भारतले बहावलपुरस्थित जैश-ए-मोहम्मदको मुख्यालय, मुरिदकेस्थित लश्कर-ए-तैयबाको शिविर लगायत विभिन्न आतंककारी संगठनका तालिम केन्द्र र लन्चप्याडलाई निशाना बनाएको दाबी गरेको छ ।
भारतीय वायुसेनाका पूर्व प्रमुख एयर चीफ मार्शल आरकेएस भदौरिया (सेवानिवृत्त) ले पहलगामको बर्बर हमलाको बदला लिइएको र केवल आतंककारी नेटवर्कलाई निशाना बनाइएको बताएका छन् ।
पाकिस्तानले भारतको राफेल विमान खसालेको दाबी गर्दै पुराना मिग विमान दुर्घटनाका तस्बिरहरू साझा गरेको थियो, जुन गलत सावित भएको छ । पाकिस्तानका उप-प्रधानमन्त्री र विदेश मन्त्री इशाक डारले भारतको कारबाहीले दुई आणविक शक्ति राष्ट्र युद्धको सँघारमा पुगेको बताएका छन् ।
कुपवाडामा एलओसी नजिक पाकिस्तानी सेनाले भारी गोलाबारी गरेको र भारतीय सेनाले जवाफी कारबाही गरेको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा आपतकाल घोषणा गरिएको छ । लाहोर विमानस्थलबाट ४८ घण्टाका लागि सबै उडानहरू रद्द गरिएका छन् र श्रीनगर विमानस्थल पनि नागरिकका लागि बन्द गरिएको छ ।
यो घटनाले दक्षिण एसियामा तनाव थप बढाएको छ र अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन दुवै पक्षलाई आग्रह गरिरहेको छ ।