हाई हिल एक रोचक प्रश्न हो, किनभने जुत्ताको संसारमा यो पृथक देखिन्छ र मूलत महिलाका लागि तयार भएको पाइन्छ । महिलाहरूले पार्टी वा विशेष अवसरमा हाई हिल लगाउने गर्छन्, जबकि यो त्यति सहज हुँदैन, हिँडडुलका लागि, सम्हालिएर हिँड्नुपर्ने हुन्छ । हाई हिलले खुट्टालाई सुन्दर र आकर्षक देखाउँछ । यसले शरीरको पोज लाई सुधारेर हिँडाइमा एक प्रकारको लचकता र सुन्दरता थप्छ । हाई हिलले व्यक्तिको उचाइ बढाउँछ, जसले आत्मविश्वासमा वृद्धि गर्छ । विशेषगरी छोटो कद भएका व्यक्तिहरूले हाई हिल रुचाउँछन् । हाई हिल फेसनको प्रतीक मानिन्छ । पार्टी, विवाह, औपचारिक कार्यक्रम वा कार्यालयमा हाई हिलले पहिरनलाई थप आकर्षक बनाउँछ । हाई हिल लगाउँदा व्यक्तिको हिँडाइ र प्रस्तुतिमा आत्मविश्वास झल्किन्छ। यसले व्यक्तित्वमा निखार ल्याउँछ । कतिपय अवस्थामा हाई हिल लगाउनु सामाजिक हैसियत र स्टाइलको प्रतीक मानिन्छ । विशेषगरी पश्चिमी संस्कृतिमा यो प्रचलन धेरै छ ।
हाई हिलको इतिहास निकै रोचक छ । आज हाई हिललाई मुख्य रूपमा महिलासँग जोडेर हेरिन्छ, तर यसको सुरुवात पुरुषहरूबाट भएको थियो । प्राचीन कालमा हाई हिलको सुरुवात इजिप्टमा करिब ३५०० ईसापूर्वमा भएको मानिन्छ । त्यस समयमा उच्च वर्गका पुरुष र महिलाले हिल भएका जुत्ता लगाउँथे, जुन सामाजिक हैसियतको प्रतीक थियो। मध्य युग (१५ औँ शताब्दी) मा हाई हिलको आधुनिक रूप मध्य युगमा पर्सियामा देखियो । पर्सियाका सैनिकहरूले हिल भएका जुत्ता लगाउँथे, जसले घोडा चढ्दा खुट्टालाई स्थिर राख्न मद्दत गर्थ्यो। यो शैली युरोपमा फैलियो । १६औँ शताब्दीमा फ्रान्समा हाई हिललाई राजा लुई चौधौँले लोकप्रिय बनाए । उनले आफ्नो छोटो कद लुकाउन र शक्तिको प्रतीकका रूपमा हाई हिल लगाउन थाले । त्यस समयमा पुरुष र महिलाले समान रूपमा हाई हिल लगाउँथे। १७औँ शताब्दीमा हाई हिललाई मुख्य रूपमा महिलाहरूको फेसनसँग जोड्न थालियो । पुरुषहरूले हिल लगाउन छोड्दै गए, र यो महिलाहरूको सौन्दर्यको प्रतीक बन्यो । २०औँ शताब्दीमा हाई हिल फेसनको अभिन्न अंग बन्यो । डिजाइनरहरू जस्तै क्रिस्टियन लुबाउटिन, जिमी चू र मनोलो ब्लाहनिकले हाई हिललाई नयाँ उचाइमा पुर्याउन । आज हाई हिल विभिन्न डिजाइन, रङ र उचाइमा उपलब्ध छन् ।
हाई हिलको उचाइ फरक–फरक हुन्छ र यो व्यक्तिको रुचि, आराम र अवसरमा निर्भर गर्छ । लो हिल १ देखि २ इन्च (२.५–५ सेन्टिमिटर) को हुन्छ र यो दैनिक प्रयोग र लामो समय हिँड्नका लागि उपयुक्त हुन्छ । मिड हिल २ देखि ३ इन्च (५–७.५ सेन्टिमिटर) को हुन्छ र यो औपचारिक र अनौपचारिक दुवै अवसरका लागि उपयुक्त हुन्छ । हाई हिल ३ देखि ५ इन्च (७.५–१२.५ सेन्टिमिटर) को हुन्छ र यो पार्टी, विवाह वा विशेष अवसरका लागि प्रयोग गरिन्छ । अल्ट्रा हाई हिल ५ इन्चभन्दा माथि (१२.५ सेन्टिमिटरभन्दा बढी) को हुन्छ र यो फेसन शो, रनवे वा विशेष फोटोसुटका लागि प्रयोग हुन्छ । सबैभन्दा अग्लो हिलहरू ८ इन्च (२० सेन्टिमिटर) सम्म पनि हुन्छन्, तर यस्ता हिलहरू हिँड्नका लागि व्यावहारिक हुँदैनन् र प्रायः फेसन डिजाइनका लागि मात्र बनाइन्छ । सामान्य व्यक्तिहरूले ३–४ इन्चको हिललाई सहज मान्छन् ।
हाई हिलले सौन्दर्य र आत्मविश्वास बढाए पनि यसको गलत प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले हाई हिल लगाउँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ । हाई हिल सही साइजको हुनुपर्छ, न धेरै टाइट न धेरै खुकुलो । गलत साइजले खुट्टामा दुखाइ, फोका उठ्ने र चोट लाग्न सक्छ । यदि पहिलो पटक हिल लगाउदै हो भने १–२ इन्चको हिलबाट लगाउन सुरु गर्नुपर्छ र बिस्तारै अभ्यस्त भएपछि उचाइ बढाउन सकिन्छ । हाई हिलमा हिँड्दा सन्तुलन र पोजमा ध्यान दिनुपर्छ, सिधा उभिने, काँधलाई पछाडि राख्ने र साना– साना कदम चाल्नुपर्छ । हाई हिल लामो समय लगाउँदा खुट्टा, ढाड र घुँडामा दुखाइ हुन सक्छ, सम्भव भएसम्म बीच–बीचमा फ्ल्याट जुत्ता लगाएर खुट्टालाई आराम दिनुपर्छ । सस्तो र कम गुणस्तरका हिलले खुट्टालाई असर गर्छ, राम्रो कुशन र सपोर्ट भएको हिल छान्नुपर्छ । हाई हिलले खुट्टाको मांसपेशीमा तनाव, जोर्नी दुखाइ र मुटुको समस्यासम्म निम्त्याउन सक्छ, यदि दुखाइ वा असहजता महसुस भयो भने हिल नलगाउने । हाई हिल लगाएर उबडखाबड, चिप्लो वा भिरालो ठाउँमा हिँड्नु खतरनाक हुन्छ, समतल र सुरक्षित सतहमा मात्र हिँड्ने ।