समय वा भनौं विज्ञानको आविष्कार हरुले हाम्रो आफ्नोपन नैं भुलाइसकेको छ। हामीले हाम्रो कर्म बिर्सियौ धर्म बिर्सियौ हुँदा हुँदा आफूलाई नै बिर्सिसकेका छौं। हामी आज आफूलाई यसरी बिगारी रहेका छौ, मानौं हामीलाई हाम्रो शरीर को कुनै प्रवाह नै छैन। आफ्नो भोक, प्यास र निन्द्रालाई बिर्सिएर मगजलाई प्रसन्न बनाउन तर्फ लागिरहेका हुन्छौं।
यसो त मानसिक दवाव वा तनाव नभए कति खुसी भइन्छ भनेर बहस गर्नुहोला तर महोदय मगजलाई ऊर्जा दिन शरीरले धेरै कुराको सामना गर्नु पर्ने हुन्छ। यो सबै मैले मेरै लागि भनेको वा भनौं यसरी लेखिरहेछु। खाना खाने समय, सुत्ने समय, पुस्तक पढ्ने समय घटाएर फोनको दुनियामा रम्नुले एउटा महतत्वपूर्ण पाठ सिकाएको छ।
सानो उमेरबाट नै म फेसबूक को दुनियामा रम्न पुगेँ। उमेर उस्तै भएर होला फ्रेन्ड सजेसनमा केटी देख्यो की एड फ्रेन्ड मा हात गईहाल्थे। त्यसपछि हाई भनेर म्यासेज छाड्थे। कसले रिप्लाई गर्छ या गर्दैन केही मतलब नै हुँदैन थ्यो। बोल्ने तमाम मान्छेहरू हुन्थे।
फेसबुकमा मैले चिनेका त्यस्तै सय जना जति थिए होलान् तर साथी हजार जना भन्दा बढी थिए। हेल्लो, हाई बाट संवाद सुरु हुन्थ्यो अनि कहाँ गएर अन्त्य हुन्थ्यो त्यो मेसेज गरिने मान्छेमा भर पर्थ्यो। यहाँ म मेरो आठ कक्षामा पढ्दा देखिनै घटिरहेको वास्तविक घटना लेखिरहेको छु।
दिनभरी हलिउड फिल्म हेर्ने अनि साँझपख सिनेमामा देखाएको तरिका अप्न्याएर प्रभाव पार्न च्याट बक्समा कुरा सुरु गर्थें। कसैले यति सानो मान्छे भएर पनि यति ठूली केटीलाई लाईन हान्ने हो भन्थे भने कसैले सहजै स्वीकार्थ्ये। कहिले काँही त आफू भन्दा ठूलो मान्छेको फोटो हालेर प्रभाव पार्न खोज्थेँ। यसरी मेरो दैनिकी चलिरन्थ्यो। न पढाइ थियो न केही काम गर्थे, चौबिसै घण्टा फोन र इन्टरनेट कै साथमा हुन्थे। केटीहरुसँग कुरा नगरी निन्द्रा नै नलाग्ने अवस्थामा पुगिसकेको थिएँ।
घरमा पनि मलाई खासै कसैले हेरविचार गर्दैनथ्यो। म यति धेरै समय घरमा बसिसकेको थिए नि, कहिले काँही त स्कूल गैदिम झैं लाग्थ्यो र जान्थे पनि। न सरहरुलाई मतलब हुन्थ्यो न मेरो कक्षाका साथीहरूलाई। मेरो साथी भनेको त्यै एउटा मोबाइल मात्र थियो। मोबाइल सिवाए मेरो अरु कसै संग राम्रो सम्बन्ध थिएन। जति मान्छे फेसबूक मा चिनेको थिए, उनीहरू सँगको सम्बन्ध उनीहरू सँग बोल्दा सम्म मात्र हुन्थ्यो। माया प्रेम त कत्ति सँग भयो भयो। मलाई उनीहरूको नाम भन भनेर कसैले सोध्यो भने सोच्नै दिन बित्छ होला। कुरा गरेर समय बिताउनु मात्र कुरा गरिरहेको हुन्थेँ।
त्यति विधि पढ्ने मान्छे म, पढाइको भूतले युगौं अगाडि अवकास लागिसकेको थियो। पढेर गरेको उपलब्धि एउटा मात्र थियो त्यो हो मेसेज टाइपिङ। जिन्दगीमा त्यति गर्न सकेको मा म मख्ख थिएँ। न मलाई भबिस्यको चिन्ता थियो न कुनै वर्तमानको। रिचार्ज को त खानी नै थियो मसँग। कुनै एउटा गलफ्रेन्ड लाई भन्नसाथ मोबाइलमा रिचार्ज आइपुग्थ्यो।
सधैं झैं त्यो दिन पनि फेसबूक को न्युज फिड घिसारी रहेको थिए। म्यासेज बक्स मा रातो एक लेखेको अंक देखियो। कसैले मलाई सम्झियो या पुरानो म्यासेजको बाँकी रिप्लाई दियो। त्यही सोचेर म्यासेज बक्स खोले। हेल्लो भनेर लेखिएको रहेछ। मलाई कुनै केटीले हेल्लो भनेर म्यासेज पठाउँछन् होला भन्ने कुनै कोणबाट पनि सम्भव नै थिएन।
मैले नै पहिले पठाएको थिएँ कि भन्ने सोचे। म्यासेज भित्र जाँदा मैले नै पहिले म्यासेज लेखेको रहेछु। १३/१४ वर्षकी सुप्रिया नाम भएको फेसबूक एकाउन्ट थियो त्यो। कुन आइडी नक्कली वा सक्कली भन्ने कुरा म सहजै अनुमान गर्न सक्थेँ। सबै कुरा नियाल्दा सुप्रिया नाम को त्यो आइडि सक्कली नै भएको प्रुस्टी भयो।
विभिन्न सुत्रहरु प्रयोग गरी उसलाई प्रभाव पार्न खोजिरहे। म केटीको म्यासेज का लागि त्यसरी अनेक कुराहरु गर्ने मान्छे थिएन तर खै किन सुप्रिया सँग बोल्दा उसलाई कहिल्यै नछाडौं भन्ने लाग्यो जसले गर्दा म हरहमेशा उसलाई आफ्नो बनाउन लागिरहे। अडियो तथा भिडियो कलहरू, नेट नहुँदा सिम कार्ड मा म्यासेज। लाग्थ्यो म उसको लागि बाँचिरहेछु।
मेरो जीवन मात्र उसको लागि बनेको हो। अरु केटीहरु संग बोल्दा एक दुई दिनमै बोल्न छाड्ने मान्छे म, उसंग वर्षौं सम्म बोलिरहन सक्थे। उसैले भनेको भएर स्कूल जान थालेको थिएँ। उ पनि मेरै उमेर बराबरको भएकोले उसंग केही कुरा पनि लुकाएको थिएन। उसलाई पनि मेरो सबै कुराहरु मन परेको थियो। मैले पढाइलाई वेवास्था गरेको कुरा उसलाई मन परेको थिएन। जसले गर्दा म बाध्यताले स्कूल जान थालेको थिएँ।
स्कूल मा बोल्ने, मसँग खेल्ने कोही पनि हुँदैनथ्यो। खाली समय बिताउन नोट सारेर बस्थेँ। मलाई पढाई कत्ति पनि चित्त बुझ्दैन थ्यो तर सुप्रिया को एउटै भनाइले मलाई परिवर्तन गरेको थियो। म प्रायः उसंग फोनमा बोल्थे। फेसबूक चलाउन छाडिसकेको थिएँ। मेरो फेसबूक को पासवर्ड सुप्रिया लाई था भएकाले कसैसँग पनि बोल्दैन्थ्ये। कोसैले म्यासेज गरे सुप्रिया नै रिप्लाई दिन्थी। हामी राति मात्र एक दुई घण्टा फोनमा बोल्थ्यौं। नोट सकेर उसको फोन नआउन्जेल पढेर बस्थेँ। पढाइमा सुधार हुँदै गएको थियो। स्कूल लगातार जान थालेको थिएँ।
फोनमा हामी घण्टौं सम्म एक अर्काको कुरा सुनेर बस्थ्यौं। फोन काट्न हम्य हम्य नै हुन्थ्यो। धेरै जसो कल त चार्ज सकिएपछि फोन अफ हुदा मात्र कट्थ्यो। यसरी हामी एक अर्काको आत्मिय भएका थियौं।
सुप्रिया जस्तो केटी सायदै भेटेको थिएँ। उसको तारिफ त स्वयं भगवानले पनि गर्न सक्दैनन् होला। सबै कुराको समिश्रण एउटा सिंगो खानी थिई उ। मैले उसँग जिन्दगीका सबै पलहरु कटाउने बाचा गरेको थिए। बलपन को त्यो कलिलो मगज, ठूला ठूला सपना देखिरहे। उसँग बिहे भएको रे, एउटै छुट्टै संसारमा हाम्रो साम्राज्य भएको रे, त्यो सानो संसारमा हामी युगल जोडीको खुसीको बहार भएको रे, अनि छिट्टै राजकुमारको आगमन भएको। कति सोच्न सकेको होला।
उसँग कुरा हुँदा पनि म मैले नै ग्रान्ड डिजाइन गरेको संसारको संरचना बारे सुनाउँथे। उ मख्ख भएको आभाष मेरो मगजले थाहा पाउथ्यो। भव्य संसार बनाए जस्तो लाग्थ्यो।
मेरो संसार, जहाँ मैले मेरो प्रियसी सँग जुग बिताउने अभिलाषा राखेको थिएँ। कुन कुराको कमी हुन्थ्यो होला र खै? एउटा एउटा कोषमा मेरो कलिलो बालापनको बृहत सोचबाट निर्माण भएको थियो। सधैं उक्त संसारमा उ संग रहेको कल्पना गर्थे। हाम्रो साम्राज्य जसलाई गोडमेल सुप्रिया ले गरेकी थिइन् भने ग्रान्ड डिजाइन मैले। एउटा भव्य मन्दिर जस्तो घर। घर भित्र हामी दुई। हामीलाई खानाको के दुःख? दुई छाक सहजै टार्न सकिन्थ्यो।
दिनहरू सहजै कटिरहेका थिए। उसको उपस्थितिले मनमा बेग्लै ऊर्जा मिलिरहेको थियो। हामी एक आपसमा जोडिएको समय थोरै भए पनि आत्मियता वर्षौं देखि भइरहेको जस्तो आभास हुन्थ्यो। अनेकौं पटक कल्पनाका सागरमा विलीन हुन पुग्थेँ। पानी वाफ भएर कुहिरोमा विलीन हुन जान्थ्यो अनि म रंगीन संसारमा बिउँझिन्थे, जहाँ म मेरी प्रियसी बाट अनेकौं कोस टाढा पुगिसकेको हुन्थेँ।
उसँग भिन्नै प्रकारको लगाव थियो। नहोस् पनि कसरी, उसँगको कुराले मात्र त एउटा जुन सँग भुलिरहेको कल्पना गर्थेँ। त्यो शान्त, कोमल र सुन्दर जुन, जसलाई म टाढाबाट मात्र हेर्न सक्थेँ। नजिक पुग्न धेरै नै गाह्रो थियो।
उसबेला जिल्ला स्तरिय परीक्षा वा भनौं आठ कक्षा को महत्त्व धेरै थियो। कयौं को भविष्य आठ कक्षा सँगै जोडिएको हुन्थ्यो। जसले गर्दा मैले राम्रो नै गर्नु पर्ने थियो। सुप्रिया आगमनले जीवन अर्कै मोडमा पुर्याइयो। मलाई म बाट एउटा ज्ञानी मान्छे बनाइदियो। मैले चिन्न नसकेको म भित्रको मान्छे सुप्रियाको निर्देशनले बाहिर आयो।
परीक्षा, जीवनमा पहिलो पटक राम्रो गरेको आभाष भयो। रिजल्ट को पर्खाइमा थिएँ। परीक्षा पछि रिजल्ट आउन करिब दुई महिना लाग्थ्यो। त्यस बीचमा हामीहरू बिच कुरा भएको थिएन। मैले कयौ पटक म्यासेज गरें, कयौ कल गरेँ तर केही हुन सकेन। उसको फोन अफ भएको जानकारी आउँथ्यो। मैले उसलाई कति धेरै माया गर्थ्ये वा भनौं कति सम्झिन्थ्ये त्यो मेरो त्यो बेलाकै मनले जानोस्। अब त खै त्यसरी कसलाई सुम्पिन सकुला र मन।
जेठ आठ गते हाम्रो रिजल्ट आउने भन्ने समाचार सुनियो। खासै दंग थिएन म। मनमा बसेको मान्छे नै हराएपछि मनलाई सन्तोष कसरी मिलोस्। साँझ करिब ६ बजेतिर मोबाइलमा रिङटोन बज्यो। सेभ नगरिएको नम्बर थियो। फोन उठाएँ।
"हेल्लो सुवास बोल्नुभएको हो?" कसैले फोन मा भन्यो। त्यो आवाज ठ्याक्कै अंदाज गर्न नसके पनि चिरपरिचित नै लाग्यो।
" हो सुवास नै बोल्दैछु। हजुरले कसलाई खोज्नु भएको?" मैले सहज हुँदै भनेँ।
" म गुँरास मा वि बाट बोल्दैछु। भर्खरै रिजल्ट प्रकाशन भयो, त्यसैले यहाँलाई सम्झेको।"
"गुरु नमस्ते।"
"चिन्नुभयो बाबुले?"
"हजुर गुरु, यहाँलाई नचिन्ने त सायदै होलान्। गुरु मेरो रिजल्ट के भयो?" मैले खुसीको भाव प्रकट गर्दै भनें।
" बाबुले ९४ प्रतिशत ल्याउनु भएको रहेछ, यो हाम्रो नगरपालिका भरिको सबै भन्दा धेरै अंक हो। हामी जिल्लाको तथ्याङ्क हेर्दै छौं, बाबुले जिल्लाकै उत्कृष्ठ अंक ल्याउनु भएको हुनसक्छ। धेरै धेरै बधाई तथा शुभकामना।"
"धन्यवाद गुरु ।"
"अनि सुन्नु त"
"भन्नु त गुरु"
"स्कूलमा आउँदा लड्डु ल्याउन नबिर्सनु है त।"
"हस् गुरु, अहिलेलाई छुट्टिन्छ।" मैले फोन राख्दै भनेँ।
चिरञ्जीवी गुरु, नेपाली विषयमा अत्यन्तै धेरै ज्ञान हाँसिल गर्नुभएको एक सबैको प्यारो शिक्षक। उहाँ बाहेक अरु कसैले विद्यार्थीलाई हजुर भनेर सम्बोधन गर्दैनथे। उहाँले गरेको सम्बोधनबाट चिनेजस्तो आभाष भएको थियो।
पछि स्कूलको नाम लिनुभएपछि मलाई उहाँ नै हुनुहुन्छ भनेर ठम्याउन गाह्रो भएन। उहाँले सबै भन्दा पहिले मेरो नम्बर लिएर मलाई कल गर्नुभएको रहेछ। खुसीको केही सीमा नै थिएन। खुसी धेरै भए पनि म मेरो खुसीको कारण छिट्टै कसैलाई सुनाउँदैन्थ्ये। मनमा फुरुङ्ग भएको थियो।
मोबाइलको रिङटोन पुनः बज्यो। नम्बर सुप्रिया थियो। खुसी ले छलाङ मार्यो। सबै कुराहरू उसलाई सुनाउन आत्तुर थिएँ। महिनौ देखि मनमा गुम्सिएका कुराहरूको बाँध फुटाल्नु थियो र शब्दहरू यसरी निकाल्नु थियो जसरी बाँधले बाढी ल्याएको होस्। त्यो बाढीले समय बाहेक अरु कसैलाई हानि नगरोस्।फोन उठाएँ।
"सुवास एउटा अत्यन्तै जरुरी कुरा भन्नु पर्ने भएर सम्झेको।" सुप्रिया ले लडबढाएको आवाजमा भनिन्। के भयो होला अनि यसरी महिनौ पछि के भन्न फोन गरेकी, मनमा कौतुहलता छायो। मलाई जसरी पनि उसको कुरा सुन्नु नै थियो र भने "अँ भन न के भन्नु पर्ने भयो?"
"सुवास अब हामी हाम्रो सम्बन्ध बाट धेरै टाढा जान पर्छ। हामी कहिल्यै एक हुन सक्दैनौं। मेरो कारणले तिम्लाई केही हानि भएको भए माफ गर है। मेरो घर परिवारको कारणले तिम्रो लागि निष्ठुरी बन्न पुगे।"
"के भयो र? अलि सहज तरिकाले भन न? हामी किन छुट्टिनु पर्ने? सबै कुरा त ठिकै थियो नी हैन? के भयो एक्कासी तिम्लाई?"
"मलाई यी सबै कुराको उत्तर भन्ने फुर्सद छैन हेर। यत्ति हो तिम्ले अब मलाई बिर्सनु पर्छ। अब तिमी आफ्नै तरिकाले अघि बढ्नु।
हेल्लो हेल्लो भन्दै थिए फोन काटेको आवाज आयो। फेरि फोन गरेँ फोन व्यस्त रहेको खबर आयो। कैयौं पटक प्रयास गरेँ फोन व्यस्त मात्र भनिरह्यो। अन्त्यमा थाहा भयो उसले मलाई ब्लक गरेकी रहिछ।जाँच जिल्ला स्तरीय परीक्षाको दिएको थिएँ नतिजा सुप्रिया बाट सुन्ने मौका पाएँ। म असफलताको गहिरो खाल्डोमा भासिन पुगेँ।
खुसी ले क्षणभरमै छाडेर गयौ। मायामा मान्छे कसरी तड्पिने रहेछ भन्ने कुराको गतिलो उदाहरण भएँ। सबै कुरा सकिएको आभाष भयो। जिन्दगीमा बाँकी केही कुराहरू थिएनन्। मैले भविष्य बारे केही सोचेको थिए भने त्यो थ्यो सुप्रिया सँगको दिगो सम्बन्ध। तर एकाएक चुँडिएको त्यो सम्बन्धले मन को अस्तित्त्व नै खलबालाएको थियो। उसकैका मीठा कुराहरु सम्झिरहन थालेँ।
फेसबुकमा उसको तस्वीर हेर्न उसँग भएको म्यासेज हेर्न च्याट बक्स खोले। उसको नाम नै भेटिएन। उसको नाम को ठाउँमा ग्रुप म्यासेज भनेर लेखिएको थियो। उसले फेसबुकमा पनि ब्लक गरिसकेकी रहिछ। रिसले चूर भएको थिएँ। फेसबूक नै डिलिट गरेँ। भएको सिम भाँचेर फाले। मलाई उसँग भेटाउनु मा सबै भन्दा बढी दोष निर्जीव मोबाइलको थियो।
मोबाइल देख्नासाथ उसैलाई सम्झिन थालेँ। मनमा नहुने नहुने विचारहरू आउन थाल्यो। कास उ नजिकै भएको भए, उसैको अंगालोमा बाधिएर धरधरी रोइदिन्थ्ये होला। मन मा छट्पटी भैरह्यो। बेलाबेलामा आत्म हत्याको सोच आउन थाल्यो। आमा बा भन्दा प्रिय मानेको मान्छेले नै छाडेर गएपछि आफू कसका लागि बाँच्नु झै भयो।
सबैबाट हरेश खाएर जिन्दगीलाई नै विश्राम दिने निर्णय गरेँ। चिरञ्जीवी गुरुलाई लड्डु दिने कुरा याद आयो। मनमनै माफी मागे। आमाले सुनाउनु भएका सबै देवी देउता सँग आफू उनीहरू सँगै आउने बिन्ती गरेँ र एउटा अन्तिम यात्रा थालनी गरेँ। घर नजिकै ठूलो जंगल थियो। पहिला साथीहरु सँगै त्यहाँ खेल्न जान्थ्यौं। आफूलाई त्यही जंगलबाट बिदाई गर्ने सोचें।
मान्छेहरू को हिँडडुल अलि बढी नै हुन्थ्यो त्यो ठाउँमा तर त्यस दिन खासै कोही थिएनन्। मलाई सहज हुनेभयो। कसैले देख्ला भन्ने पीर थियो जुन त्यो दिन कोही नहुनुले मेरो पीर दूर गएको थियो। हजुरबाले बाटेको जुटको डोरी लिएर रुखमा पासो बनाएँ। रुखमा चढेर पासो घाँटीमा झुण्डाए। आफूलाई भगवानको शरणमा सुम्पिदै थिएँ । एकपटक ओरिपरी सबै नियाल्न मन लाग्यो। एकटकले सबै कुरा हेरिरहेँ।
पछाडि एउटा ढलेको सिमल को रुख देखें। ढलेको रुखमा ति हरिया टुसाले आफ्नो अस्तित्त्व खोजिरहेको देखें , जहाँ ढलिसकेको सिमलले उठ्ने प्रयास गरी रहेको थियो। सोचे एकपटक मरिसकेको रुखले पनि जिउन हरहमेशा परिश्रम गरिरहेका छ भने म त ज्यूँदै छु मैले बाँच्न प्रयास किन नगरु। त्यहाँ बाट डोरी खोलामा बगाएँ। घर फर्किएर धित मरुन्जेल शरीर पानीमा डुबाए।
अगरबत्ती र दियो लिएर पूजा कोठामा गए। पूजा गरेर भगवानसँग माफ मागे। न मसँग कुनै फोन बाँकी भयो न कुनै याद हरु। एउटा भव्य अभिलाषा बोकेर जीवनमा अगाडि बढ्ने संकल्प गरें। सञ्जालको त्यो प्रेमले अनुठो शिक्षा दिएर गयो। मलाई परिवर्तन गर्यो। धन्न मेरो ज्यान गइसकेको थियो, एउटा ढलेको सिमले बचायो। हो रहेछ हामीले शिक्षा जुनसुकै कुराबाट पनि पाउन सक्ने रहेछौ। ढलेको सिमलको रुखले सिंगो जीवन जिउन प्रेरणा दियो। आफूलाई नौलो जीवन पाएको अनुभव भयो। सात आठ महीने विगतलाई बिर्सिएर नयाँ गन्तव्य रोजें।
सानो सानो कुराले कति असर पर्ने रहेछ भन्ने कुरा आफूले नजिकै बाट अनुभव गर्ने मौका पाएँ। सामाजिक सञ्जालबाट सधैका लागि बाहिर गए। आफूलाई पढाइमा अब्बल राख्न लागिरहे। यसरी सुरु भयो मेरो बालपनको र किशोरावस्था बीचको जीवन यात्रा।