गर्मी यामले आफ्नो प्रचण्ड स्वरूप देखाउन थालेको छ। मौसम पूर्वानुमान महाशाखाले यो वर्ष अत्यधिक गर्मी हुने चेतावनी दिएको छ। यस्तो मौसममा शरीरको उचित हेरचाह गर्नु आवश्यक हुन्छ, किनकि गर्मीले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
यस्ता अवस्थामा शरीरलाई ताजा राख्ने, पानीको मात्रा उच्च भएका र पोषक तत्त्वयुक्त खानेकुरा तथा घरेलु उपायहरू अपनाउन सल्लाह दिइन्छ। त्यस्तै उपायमध्ये एक हो — घिउकुमारी, जसलाई आयुर्वेदमा घृतकुमारी भनिन्छ।
घिउकुमारी किन महत्वपूर्ण?
घिउकुमारी प्राकृतिक भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल र एन्टि-इन्फ्लेमेटोरी गुणहरूले भरिपूर्ण वनस्पति हो। यसका फाइदा छालादेखि कपाल र पाचन प्रणालीसम्म व्यापक छन्।
छालाका लागि घिउकुमारीको प्रयोग
गर्मीमा छालामा हुने समस्याहरू जस्तै मुँहासे, डढेलो, चाउरीपना, सुख्खापन कम गर्न घिउकुमारी अत्यन्त प्रभावकारी हुन्छ। यसको जेल अनुहारमा लगाउँदा शीतलता मिल्छ, छाला चिल्लो हुँदैन र छालाको प्राकृतिक चमक बढ्छ। घिउकुमारीमा हुने एन्टिब्याक्टेरियल तत्वहरूले पिम्पल घटाउँछ र छाला सफा राख्छ।
कपालको हेरचाहमा घिउकुमारी
घिउकुमारीको प्रयोग टाउकोको छालालाई सफा राख्न र ड्यान्ड्रफ घटाउन उपयोगी हुन्छ। यसले कपाललाई पोषण दिन्छ, झर्ने समस्या घटाउँछ र कपाललाई मजबुत बनाउँछ। तपाईं यसलाई सिधै कपालमा लगाउन सक्नुहुन्छ वा स्याम्पुसँग मिसाएर पनि प्रयोग गर्न सकिन्छ।
स्वास्थ्यका लागि घिउकुमारीको लाभ
घिउकुमारी केवल बाह्य रूपमा मात्र नभई आन्तरिक स्वास्थ्यका लागि पनि अति लाभदायक छ। यसको जुस सेवन गर्दा पाचन शक्ति बढ्छ, कब्जियत हट्छ र शरीरबाट विषाक्त तत्वहरू बाहिर जान्छन्। यसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ, शरीरमा ऊर्जा दिन्छ र ब्लड शुगर तथा कोलेस्ट्रोल सन्तुलनमा राख्छ। साथै, घिउकुमारी कलेजो र मिर्गौलाका लागि पनि लाभदायक मानिन्छ।
प्रयोग गर्ने तरिका
घिउकुमारीको जेल सिधै अनुहार वा कपालमा लगाउन सकिन्छ। यसको जुस बनाएर पनि सेवन गर्न सकिन्छ। बिहान खाली पेटमा घिउकुमारी जुस पिउनु सबैभन्दा उपयुक्त मानिन्छ। यद्यपि, नियमित सेवन गर्नु अघि चिकित्सक वा आयुर्वेदिक विज्ञको सल्लाह लिनु राम्रो हुन्छ।
गर्मीको मौसममा शरीर र छालाको हेरचाहका लागि घिउकुमारी (घृतकुमारी) एक सस्तो, सरल र प्राकृतिक समाधान हो। यसको नियमित प्रयोगले तपाईंलाई भित्रबाट तन्दुरुस्त र बाहिरबाट उज्यालो बनाउँछ।