काठमाडौँ उपत्यकामा चल्ने करिब ३८ प्रतिशत सार्वजनिक सवारी साधन वातावरणीय मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ। ती सवारी साधनले तोकिएको स्तरभन्दा दोब्बर प्रदूषणयुक्त कालो धुवाँ फालिरहेका कारण उपत्यकाको चिसो मौसममा वायु प्रदूषण तीव्र हुने गरेको वातावरण विभागले जनाएको छ।
विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार बबरमहल क्षेत्रमा संयुक्त छड्के जाँच गरेका थिए। ३७ वटा सवारी साधन जाँच गर्दा १२ वटा मापदण्डविपरीत पाइए। अधिकांश साना चारपाङ्ग्रे सवारी तथा हायसमा प्रदूषणको स्तर बढी रहेको विभागले जनाएको छ।
विभागकी मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठका अनुसार, सामान्यतया धुवाँको घनत्व (Smoke Density) ६५ सम्म हुनु पर्छ, तर जाँचमा ९८ सम्म मापन गरिएको छ। यस वर्ष १४९ सवारी साधनमा जाँच गर्दा ६५ वटा मापदण्डविपरीत भेटिएका छन्।
सवारी साधनको नियमित मर्मत नगर्नु, प्रदूषण मापदण्ड कार्यान्वयन नगर्नु, र ‘भेहिकल फिट्नेस’ स्टिकर लिन नजानु जस्ता कारणले प्रदूषण नियन्त्रणमा चुनौती बढेको छ। ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “प्रदूषणयुक्त सवारीले अन्य सवारी साधन, चालक र सहचालकलाई समेत असर गर्छ र दुर्घटनाको जोखिम बढाउँछ।”
विभागका अनुसार वायु प्रदूषणले विशेष गरी वृद्धवृद्धा, गर्भवती महिला र बालबालिकालाई असर पुर्याउँछ। वायु प्रदूषणले मुटुरोग, क्यान्सर, दम, खोकी, एलर्जी र फोक्सोमा असर पार्ने गरेको छ। मुख्य प्रदूषण स्रोतमा सवारी साधन, कलकारखाना, धुलो, परागकण र जङ्गल आगोबाट निस्कने धुवाँ पर्दछन्।
बुधबार काठमाडौँको रत्नपार्क, शङ्खपार्क, भक्तपुर र धुलिखेललगायत स्थानमा वायु प्रदूषणको मापदण्ड ‘रेडजोन’मा पुगेको छ।