१ माघ २०८२ , बिहीबार

मन्त्रिपरिषद् बैठक- ८ महत्वपूर्ण निर्णय सार्वजनिक

News
२१ पुष, काठमाण्डौँ ।

सोमबार दिउँसो सिंहदरबारमा सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले गरेका निर्णयहरूमध्ये आठ वटा निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारी प्रवक्ता जगदीश खरेलले सार्वजनिक गर्नुभएको हो।

प्रवक्ता खरेलका अनुसार राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ।

त्यसैगरी नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र तथा नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू यसप्रकार छन् :

  1. राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय।
  2. समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय।
  3. जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय।
  4. नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय।
  5. नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय।
  6. पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२ स्वीकृत गर्ने निर्णय।
  7. वन तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय।
  8. नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय।

सरकारले यी निर्णयहरू कार्यान्वयनमार्फत प्रशासनिक सुधार, अन्तर्राष्ट्रिय सहकार्य र सार्वजनिक हित प्रवर्द्धन गर्ने अपेक्षा लिएको जनाएको छ।