१ माघ २०८२ , बिहीबार

नेपाली कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत प्रतिनिधि सहभागी

News
२८ पुष, काठमाण्डौँ ।

। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा औपचारिक रूपमा प्रारम्भ भएको छ। बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई सुदृढ बनाउने, जनभावनाअनुसार नीति निर्माण गर्ने तथा नयाँ ऊर्जा र नेतृत्वमार्फत कांग्रेसको पुनर्निर्माण र रूपान्तरण गर्ने उद्देश्यसहित विशेष महाधिवेशन सुरु गरिएको हो।

महाधिवेशनको उद्घाटन सत्रमा कुल चार हजार ७४३ प्रतिनिधिमध्ये दुई हजार ६६२ जना अर्थात् ५६.१२ प्रतिशत प्रतिनिधिको सहभागिता रहेको आयोजक समितिले जनाएको छ। तीन महिनाअघि दुई हजार ४८८ (५४.५८ प्रतिशत) प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए। केन्द्रीय कार्यसमितिबाट औपचारिक आह्वान नभएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो।

महाधिवेशन उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा अन्य शीर्ष नेताहरूलाई निमन्त्रणा गरिए पनि उहाँहरूको उपस्थिति रहेन। यद्यपि, सभापति देउवानिकट पूर्वउपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फर्मुल्लाह मन्सुर, केन्द्रीय सदस्य पुष्पा भुसालसहित २५ जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भए।

देश बदल्ने सङ्कल्प : गगन थापा

महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनलाई शक्ति वा सत्ताको सङ्घर्ष नभई विचार, मूल्य र मान्यताको सङ्घर्षका रूपमा व्याख्या गर्नुभयो। उहाँले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिले कांग्रेसलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको उल्लेख गर्नुभयो।

उहाँले नागरिकमा देखिएको निराशा, आक्रोश र असन्तुष्टिलाई सम्बोधन नगरे कांग्रेसको अस्तित्व संकटमा पर्न सक्ने चेतावनी दिँदै भन्नुभयो, “यो कसैलाई दोष लगाउने समय होइन। हामी आफैँले जिम्मेवारी लिनु पर्छ।” विशेष महाधिवेशनको बन्दसत्रले गर्ने निर्णय आफूलाई पूर्ण रूपमा स्वीकार्य हुने उहाँको प्रतिबद्धता थियो।

महामन्त्री थापाले पार्टीभित्र सबै सदस्य समान रहेको उल्लेख गर्दै विशेष महाधिवेशन तल्लो तहबाटै आह्वान भएको ऐतिहासिक प्रक्रिया भएको बताउनुभयो। उहाँले संविधान, गणतन्त्र र लोकतान्त्रिक प्रणाली जोगाउँदै नागरिकको भरोसा पुनःस्थापित गर्नु कांग्रेसको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो।

विधिले जित्ने छ : विश्वप्रकाश शर्मा

महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई पार्टीलाई एकताबद्ध र जनविश्वास आर्जन गर्ने शक्तिका रूपमा रूपान्तरण गर्न आयोजना गरिएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हामी पार्टी बिगार्न आएका होइनौँ, बिग्रिएको पार्टीलाई सच्याउन आएका हौँ। विशेष महाधिवेशनबाट कांग्रेसले जित्ने छ, विधिले जित्ने छ, अन्ततः देशले जित्ने छ।”

उहाँले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीहरूको समीक्षा गर्दै भविष्यको स्पष्ट मार्गचित्र तय गरिने बताउनुभयो। नागरिकका असन्तुष्टिलाई सघन विमर्शमार्फत समाधानको दिशामा लैजाने र पार्टीभित्र नयाँ आत्मविश्वास भर्ने उहाँको भनाइ थियो।

पार्टी रूपान्तरणको आह्वान

कार्यक्रममा सहमहामन्त्री फर्मुल्लाह मन्सुर, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य पुष्पा भुसाललगायत नेताहरूले कांग्रेसलाई निर्णायक रूपमा रूपान्तरण गर्ने अवसरका रूपमा विशेष महाधिवेशनलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। अधिकांश वक्ताले शीर्ष नेताहरू बन्दसत्रमा सहभागी हुने विश्वास व्यक्त गरे।

प्रतिनिधि सहभागिता

आयोजक समितिका अनुसार कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १५८ प्रतिनिधि सहभागी भएका छन्। उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्।