१ माघ २०८२ , बिहीबार

नेपालको नानो स्याटेलाइट ‘मुनाल’ अन्तरिक्षमा अड्कियो, अर्बिटमा पुग्न असफल

News
३० पुष, काठमाण्डौँ ।

नेपालले प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) ‘मुनाल’ अन्तरिक्षको लक्षित कक्ष (अर्बिट) मा प्रवेश गर्न नसकी विचलित भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पहल तथा भारत सरकारको सहयोगमा सोमबार प्रक्षेपण गरिएको उक्त भूउपग्रह प्राविधिक समस्याका कारण अन्तरिक्षमै अड्किएको हो।

भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को समन्वयमा श्रीहरिकोटस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सोमबार बिहान करिब १०ः३० बजे ‘मुनाल’ भूउपग्रह प्रक्षेपण गरिएको थियो। प्रक्षेपण प्रारम्भिक रूपमा सफल भए पनि भूउपग्रह लक्षित अर्बिटमा पुग्न नसकी अन्यत्र मोडिएको नास्टले जनाएको छ।

काठमाडौँ विश्वविद्यालय तथा विभिन्न विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीको सहभागितामा निर्माण गरिएको ‘मुनाल’ भूउपग्रह करिब दुई वर्षअघि नै तयार भएको थियो। प्रक्षेपणका लागि समय नमिल्दा ढिला भएको नास्टका सदस्यसचिव डा. रवीन्द्र ढकालले जानकारी दिनुभयो।

उहाँका अनुसार भूउपग्रह अन्तरिक्षको करिब ४६० किलोमिटर उचाइसम्म पुगेको थियो तर प्राविधिक समस्याका कारण निर्धारित कक्षमा प्रवेश गर्न सकेन। “अन्तरिक्षसम्म पुगे पनि जहाँ जानुपर्ने थियो, त्यहाँ नगई डाइभर्ट भएर अन्यत्र मोडियो,” ढकालले भन्नुभयो।

ढकालका अनुसार ‘मुनाल’ भूउपग्रह अन्तरिक्षमै देखिए पनि पुनः आफ्नो कक्षमा फर्काउन सकिने अवस्था छैन। यद्यपि पूर्ण रूपमा अन्तरिक्षमै पुग्न नसकी असफल हुनुभन्दा निर्धारित उचाइसम्म पुग्नु नै सकारात्मक पक्ष भएको उहाँको भनाइ छ। पाँच वर्षअघि प्रक्षेपण गरिएको नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–वान’ भने ४०० किलोमिटर माथिको अर्बिटमा सफलतापूर्वक स्थापित भएको थियो।

प्रक्षेपणका क्रममा नास्टका उपकुलपति डा. दिलीप सुब्बा, सदस्यसचिव डा. रवीन्द्र ढकाल तथा भूउपग्रह निर्माणमा संलग्न इन्जिनियर हरिराम श्रेष्ठ भारतमा उपस्थित हुनुहुन्थ्यो। सदस्यसचिव ढकालले नेपाल फर्केलगत्तै परिमार्जनसहित ‘मुनाल टु’ निर्माण तथा प्रक्षेपणको तयारी थालिने जानकारी दिनुभयो।

‘मुनाल’ भूउपग्रहबाट वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) मा आधारित तथ्याङ्क विश्लेषण र प्रशोधनमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो। उक्त भूउपग्रहको तौल करिब १.३ केजी रहेको थियो।

नास्टले जारी गरेको प्रेस विज्ञप्तिमा प्रारम्भिक प्रक्षेपण चरण सफल भए पनि रकेटको तेस्रो चरणको सञ्चालनमा समस्या आएपछि उडान विचलित भएको उल्लेख गरिएको छ। नास्टले ‘मुनाल’ लाई नेपालभित्रै निर्माण गरिएको राष्ट्रिय गौरवको परियोजनाका रूपमा उल्लेख गर्दै आगामी ‘मुनाल टु’ का लागि भारतले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाएको छ।