नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि प्रारम्भ भएको विशेष महाधिवेशनको आजको कार्यतालिकाअनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिने छ।
महाधिवेशन प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा आयोजना हुने बन्दसत्रको सुरुआत विशेष महाधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि निर्माणबाट गरिने छ। त्यसपछि नौ वटा समूह गठन गरी चार प्रमुख विषयमा केन्द्रित रहेर नीति मन्थन गरिने कार्यसूची तय गरिएको उहाँले जानकारी दिनुभयो।
बन्दसत्रमा पार्टीको विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक राजनीतिक विषयहरूमा विस्तृत छलफल गरिने जनाइएको छ। नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा समेत गहन छलफल हुने पोखरेलले बताउनुभयो।
उहाँका अनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय भएमा निर्वाचन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ। नयाँ कार्यसमिति निर्विरोध चयन हुने सम्भावना उच्च रहेकाले मतदान गर्नुपर्ने अवस्था नआउने उहाँको धारणा छ।
यसैबीच, विशेष महाधिवेशनका प्रतिनिधिहरूको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि आज बिहान मात्र काठमाडौँ आइपुगेकाले दर्ताको समय थप गरिएको हो।