वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई १४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका-८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३२ मा बस्दै आएका ४५ वर्षीय पुरुषोत्तम भण्डारी रहेका छन्।
प्रहरीका अनुसार, भण्डारीले बेरोजगार युवालाई न्युजिल्याण्डमा आकर्षक रोजगारीको आश्वासन दिएर लामो समयसम्म झुक्याएका थिए। पीडितबाट १४ लाख रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएका थिए।
पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरी टोलीले उनलाई काठमाडौं-३२ बाट मिति २०८२/०७/२४ गते पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीले जनाएको छ।