१२ मंसिर २०८२ , शुक्रबार

प्रहरीको मनोबल बढाउँदै जनताको अपेक्षा पूरा गर्नेछु : आईजीपी कार्की

News
२७ कार्तिक, काठमाण्डौँ ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउँदै सरकार र नागरिकको अपेक्षा पूरा गर्ने बताए।

गृह मन्त्रालयमा आज आयोजित दज्र्यानी चिह्न ग्रहण समारोहमा बोल्दै उनले सङ्गठनमा सुदृढ र सामूहिक नेतृत्व प्रदर्शन गरिने उल्लेख गरे। "बदलिँदो अपराध, सूचना प्रविधि र सुशासनको अपेक्षालाई सम्बोधन गर्न उच्च मनोबलयुक्त प्रहरी आवश्यक छ," उनले भने, "यस्तो क्षमता निर्माण गर्नु सरकार र प्रहरीको साझा दायित्व हो।"

उनले जनआन्दोलनपछिको प्रतिकुल अवस्थामा पनि प्रहरीले सुरक्षामा कुनै कमी हुन नदिई नागरिकको सेवा गरेको अनुभव सुनाए। छोटो समयमै प्रहरीका संरचना र सेवा पुनःस्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट पारेको उनले उल्लेख गरे।

आफूले प्रहरी सङ्गठनमा २८ वर्षसम्म गरेको सेवाको कदर गर्दै नेतृत्व गर्ने अवसर दिएकोमा उनले सरकारप्रति आभार व्यक्त गरे।

यसअघि गृहसचिव रामेश्वर दङ्गालले उनलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए। तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएपछि सरकारले वरिष्ठताका आधारमा कार्कीलाई महानिरीक्षक नियुक्त गरेको हो।