जिल्ला प्रहरी कार्यालयमा साइबर अपराध सम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेका थिए। ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन्।
दर्ता भएका उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन्। दुवै घटना विद्युतीय अपराधसँग सम्बन्धित छन्। आर्थिक वर्ष २०८०/८१ मा दुई सय ७० उजुरी परेकामा एउटा घटनाको मात्र मुद्दा दर्ता भएको थियो। आर्थिक वर्ष २०७९/८० मा एक सय छ र आर्थिक वर्ष २०७८/७९ मा ५८ वटा साइबर अपराधसम्बन्धी उजुरी परेका थिए। विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ।
साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ।