नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को हुप्सेकोट गाउँपालिकामा आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। हुप्सेकोट–१ बेलुवाका ३८ वर्षीय दीपेन्द्र शर्पुञ्जालाई करिब सात बजे बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।
स्थानीय त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा दीपेन्द्रलाई बाघले आक्रमण गरेको र उनको दाहिने हातको पाखुरा, छातीको दाहिने भाग र ढाडमा चोट लागेको प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। बाघको आक्रमणबाट घाइते भएका दीपेन्द्रको उद्धार गरी कावासोतीको डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ।