२८ आश्विन २०८२ , मंगलवार

विदेश मोह त्यागेर गाउँमा भविष्य खोज्नेलाई सूर्योदय नगरपालिकाको सम्मान

News
२४ असार, काठमाण्डौँ ।

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ । स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले १० सफल उद्यमीलाई नगदसहित सम्मान गरेको हो ।

साढे तीन वर्ष साउदी अरबको कठिन अनुभव सगालेर फर्किनुभएकी सपना सुवेदीलाई सफल महिला उद्यमीका रूपमा सम्मान पाउँदा आनन्द लागेको छ । “नगरपालिकाबाट रु एक लाख अनुदान लिएर बाख्रा, कुखुरापालन र चियाखेती गरिरहेको छु”, उनले भने , “आज सम्मान पाउँदा आफू सफल भएको अनुभूति भइरहेको छ ।” उता सूर्योदय–८ का राजेन्द्र तुम्लिङ्गेले दूध, माछा र खुर्सानी उत्पादन तथा बिक्रीबाट प्रशस्त आम्दानी गर्दै गाउँमै समृद्धिको बाटो बनाएका छन ।

गाउँमै रोजगारी सृजना गरी आत्मनिर्भर बनेका यिनै सपना र राजेन्द्रजस्ता १० जना स्थानीय उद्यमीलाई सूर्योदय नगरपालिकाले विशेष सम्मान गरेको नगरपालिकाको श्रम तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख विष्णु रिजालले बताउनुभयो । कार्यक्रममा सफल उद्यमीलाई जनही रु १० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको हो ।

नगरप्रमुख रणबहादुर राईले वैदेशिक रोजगारीको भर नपरी गाउँमै समृद्धिको उदाहरण बनेका यस्ता व्यक्तिका योगदानलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सम्मानित अन्य उद्यमीहरूमा सूर्योदय–१ का डेरी व्यवसायी विश्वास सुब्बा लिम्बू, वडा नं ६ का चिया व्यवसायी रमेश गजुरेल, वडा नं ४ का गाई तथा लोकल कुखुरापालक राजेन्द्र गिरी, वडा नं ९ का पुष्पखेती व्यवसायी गोपाल राई, वडा नं २ का फ्रेसहाउस सञ्चालक मीनबहादुर खड्का, वडा नं ८ का कपडा पसल व्यवसायी सहदेव तामाङ, वडा नं १३ का गाईफार्म सञ्चालक जनकलाल कट्टेल र वडा नं १० का मोटरसाइकल मर्मत व्यवसायी विशाल प्रधान रहनुभएको छ । नगरपालिकाले आगामी दिनमा यस्ता मौलिक उद्यमलाई थप प्रोत्साहन गर्ने उपप्रमुख दुर्गाकुमार बरालले बताए ।

‘रेमि’ कार्यक्रम सूर्योदयका संयोजक ईश्वरी तामाङका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँघरमै व्यावसायिक बनाउन सूर्योदय नगरले विभिन्न क्षेत्रमा युवालक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । वैदेशिक रोजगारीबाट घर आएर अलमलमा परेका युवालाई पुनः व्यावसायिक बनाएर आयआर्जनमा सघाउ गर्न नगरपालिकाले तरकारी खेती, कुखुरापालन र बाख्रापालनमा सहयोग गरिरहेको हो ।

नगरपालिकाले वडा नं ४ र १४ का ४१ जना युवालाई तरकारी खेती, कुखुरापालन र बाख्रापालनसम्बन्धी तालिम दिएर चक्रीय बीउ पुँजीमार्फत व्यवसाय सञ्चालनमा सहयोग गरेको तामाङले जानकारी दिनुभयो । नगरपालिकाले जारी गरेको स्वरोजगार कार्यविधि, २०८१ अनुसार वडा नं ४ का चार जना युवाले कुखुरापालनमा सहयोग प्राप्त गरेका छन् ।

स्वीस सरकार र नेपाल सरकारको द्विपक्षीय सम्झौता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय सरकारको समन्वय तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित परियोजनामा प्रायः विदेशबाट फर्किएकालाई सहभागी गराइएको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रमका संयोजक तामाङले जानकारी दिए ।

उनका अनुसार यो परियोजनाबाट व्यवसायका लागि चार जनालाई प्रतिव्यक्ति रु एक लाखका दरले सहयोग गरिएको छ । केहीलाई रु ३० हजार, केहीलाई रु २० र केहीलाई रु १५ हजारका दरले पनि सहयोग उपलब्ध गराइएको छ । रु एक लाख र रु ४० हजार सहयोग प्राप्त गर्नेहरूले तीन वर्षपछि साँवाचाहिँ चक्रीय बीउपुँजीमा फिर्ता गर्नुपर्ने शर्त रहेको कार्यक्रम संयोजक तामाङ बताउनुभयो ।

उक्त कार्यक्रमले विदेश गएर फर्किएका सूर्योदय नगरपालिकाभित्रका आप्रवासी कामदारका निम्ति पुनः एकीकरणको जग तयार पार्दै लाने विश्वास रहेको नगरपालिका प्रमुख राईले बताए । कार्यक्रम प्रभावकारी कार्यान्वयन गरेर गाउँघरमै रोजगारीका अवसर दिलाउन आफूहरू प्रतिबद्ध रहेको उहाँ बताए ।