२९ आश्विन २०८२ , बुधबार

साँगा-धुलिखेल सडकखण्डमा कालोपत्रे सुरु, असारभित्रै तीन किलोमिटर सम्पन्न गर्ने लक्ष्य

News
५ जेष्ठ, धुलिखेल ।

स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा-धुलिखेल सडकखण्डमा कालोपत्रेको काम सुरु भएको छ। सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

अरनिको राजमार्गअन्तर्गत साँगा-धुलिखेल सडकखण्डलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ। यस अन्तर्गत सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकोमा साँगा–धुलिखेल खण्डमा कालोपत्रे सुरु गरिएको हो। आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार धुलिखेल मुख्यचोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडकमा हाल कालोपत्रेको काम सुरु गरिएको छ।

हाल आधुनिक प्रविधिबाट कालोपत्रेको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको छ। खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्रे हुनेछ। जसमा विभिन्न तहहरू समावेश गरिएको छ - पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि २० सेमीको ‘सिटिपी’, त्यसपछि १० सेमीको ‘क्र्याक–रिलिफ लेयर’, ११ देखि १३ सेमीको ‘डिबिएम’ र अन्तमा ६ सेमीको ‘आस्पाल्ट कङ्क्रिट लेयर’ गरी जम्मा ८० सेमीको आधुनिक प्रविधिबाट कालोपत्रे भइरहेको छ।

सूर्यविनायक–धुलिखेलसम्मको १६ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो - सूर्यविनायक–साँगा ७.५ किलोमिटर र साँगा–धुलिखेल ८.५ किलोमिटर। सूर्यविनायक–साँगासम्मको ठेक्का २०७९ मङ्सिरमा र साँगा–धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा गरिएको थियो। सम्झौता अनुसार सडकखण्डमा दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको सडक बनाइनेछ।

इन्जिनियर खनालका अनुसार हालसम्म साँगा–धुलिखेल सडकखण्डको भौतिक प्रगति करिब ५० प्रतिशत सम्पन्न भएको छ। आयोजनाले हाल सुरु गरिएको तीन किलोमिटर कालोपत्रे असार मसान्तभित्र सकेर करिब ६० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य लिएको छ।

आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेलसम्मको ८.४ किलोमिटर सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखको तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्डका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखको सम्झौता भएको थियो।

साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि सडक विस्तार थालिएको हो। चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ। हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वीतराईका लामा दूरीका दैनिक दुई हजार ५०० भन्दा बढी सवारी गुड्ने गरेका छन्।