२८ आश्विन २०८२ , मंगलवार

म्याग्दीमा नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’

News
३२ असार, काठमाण्डौँ ।

जिल्लाका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ।

खानेपानी वितरण गरेको डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको हो। एक हजार २८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ।

आयोजनामार्फत तीन हजार ११९ मिटर मुख्य, एक सय छ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र दुई सय ७७ वटा अन्य संरचना निर्माण भएका छन्।

प्रदेश सरकारका ३६ वटा योजनाका लागि रु छ करोड ९८ लाख २५ हजार बजेट विनियोजन भएकामा ३५ वटा कार्यान्वयन र ९६ दशमलव ०९ प्रतिशत अथवा रु छ करोड ७० लाख ९५ हजार खर्च भएको छ। सङ्घीय सरकारका पाँचवटा योजनाका लागि रु ५१ लाख बजेट प्राप्त भएकामा तीनवटा योजना कार्यान्वयन र रु ४३ लाख ९५ हजार अथवा ८६.१९ प्रतिशत खर्च भएको कार्यालय प्रमुख ओझाले बताए।

यस वर्ष दोवा, हिस्तान औला, पुलाचौर, बरंजाको दह–खर्कमा एक घर घर धारासहितको खानेपानी सुविधा विस्तार भएको छ। घराम्दी खानेपानी योजनाको औला स्किमको उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको बताए।