आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। बैंक र लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ।
आज नेप्से परिसूचक २९ अंकले बढेर दुई हजार ७६० दशमलव ८० बिन्दुमा पुगेको छ। आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर एक लाख पाँच हजार ४१५ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ बराबरको कारोबार भएको छ।
बैंकिङ समूह तीन दशमलव ३७ र लघुवित्त समूह तीन दशमलव ५० प्रतिशतले बढेका छन्। विकास बैंक एक दशमलव ४७, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१ र म्युचुअल फन्ड एक दशमलव ०८ प्रतिशतले बढेका छन्। जलविद्युत् शून्य दशमलव ८३, लगानी शून्य दशमलव ०८, निर्जीवन बीमा शून्य दशमलव ३४, व्यापार शून्य दशमलव २६ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेका छन्।
एनआईसी एसिया बैंक लिमिटेड र खानेपानी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने हिमालयन हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज एनआईसी एसिया बैंक लिमिटेडको सबैभन्दा धेरै रू ३७ करोड १४ लाख ९९ हजार ३२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सनराइज ब्लुचिप फन्डको २० लाख ५४ हजार चार सय कित्ता शेयर किनबेच भएको छ।