२८ आश्विन २०८२ , मंगलवार

मधेशका किसानलाई राहत: वन्यजन्तु नियन्त्रण गर्ने जैविक गन्धयुक्त औषधिको सफल परीक्षण

News
२७ असार, काठमाण्डौँ ।

वर्षौंदेखि नीलगाई, बाँदर र बँदेलजस्ता वन्यजन्तुबाट हैरान मधेसका किसानका लागि जैविक गन्धयुक्त औषधिको सफल परीक्षण गरिएको छ। धनुषाको मिथिला विहारी नगरपालिकामा अवस्थित मिथिला ‘वाइल्ड लाइफ’ ट्रष्टले यस्ता वन्यजन्तु नियन्त्रण गर्न जैविक गन्धयुक्त औषधिको सफल परीक्षण गरेको ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिएका छन्। यसका लागि करिब छ महिना लागेको उनले बताए।

उक्त औषधि लसुन, माछाको फोहर, छाछ, असुरो, निर्गुण्डी, अकौन, बकाइन, धतुरा, बङ्गरेरा र गाईको गोबरजस्ता जैविक पदार्थबाट बनाइएको हो। औषधिमा गौमूत्र मिसाएर परीक्षणका क्रममा औषधि छरिएका खेतमा नीलगाई १२ देखि २८ दिनसम्म नदेखिएको वा देखिए पनि बाली नखाएको अध्यक्ष मण्डलको दाबी छ।

ट्रस्टका अध्यक्ष मण्डलले यो विधिलाई सामुदायिक प्रयोगका लागि खुला राखिने बताएका छन्। अनुसन्धानको अन्तिम प्रतिवेदन चाँडै सार्वजनिक गर्ने उनले बताएका छन्। यो प्रयासले मधेसका किसानलाई ठूलो राहत दिने र कृषि क्षेत्रलाई वन्यजन्तुबाट सुरक्षित राख्न योगदान पुग्ने विश्वास लिइएको छ।