"म नेपालभित्र तराईको खाना र नेपालबाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु, यो मेरो आफ्नो खानासँगको प्रेम हो", बिबिसी मास्टर सेफ सन्तोष साहले नक्सालमा 'जनकपुर फिस हाउस'को उद्घाटनका क्रममा भने।
सेफ सन्तोष साहले जनकपुरदेखि काठमाडौँसम्म मिथिला खानाको प्रचारप्रसार एवं प्रवर्द्धन गर्दै देशबाहिर विभिन्न प्रकारका नेपाली खाना प्रवर्द्धन गर्दै आइरहेका छन्। देशबाहिर अमेरिकादेखि यूरोप, अष्ट्रेलिया, जापानसम्म उनले नेपालका विभिन्न समुदाय र जातिका मौलिक परिकार प्रवर्द्धन गरिरहेका छन्।
पछिल्लो समय उनले विभिन्न देशमा पप–अप शो आयोजना गर्दै आएका छन्, जसमा अधिकतम २० देखि २२ जना मात्रै सहभागी हुन्छन् भने साहले १७ कोर्ससम्मको परिकार पस्कन्छन्। उनको यो पप–अप शो अहिले विश्वका विभिन्न देशमा माग भइरहेको छ।
त्यसैगरी स्वदेशमा भने मिथिला थालीको प्रचारप्रसारमा काम गरिरहेका छन्। एक वर्षअघि काठमाडौँबासीलाई मिथिला परिकार खुवाउने उद्देश्यले ललितपुरको झम्सिखेलमा 'मिथिला थाली' रेष्टुरेन्ट सुरु गरेका साहले त्यसपछि नक्साल र गौशालामा आउटलेट विस्तार गरेका थिए। राजधानीबासीलाई मिथिला थालीको स्वाद चखाएपछि उनले यतिबेला जनकपुरको स्वाद झल्कने माछाका परिकार ल्याएका हुन्। साहका शब्दमा यो प्रयास 'क्रस प्रमोसन'को एउटा अंश हो।
नक्सालको मिथिला थाली रेष्टुरेन्टमा सुरु गरिएको ‘जनकपुर फिस हाउस’मा माछाका परिकारमा जनकपुरको स्वाद पाउन सकिने उनको दाबी छ। “माछा पकाउने शैली र स्वाद दुरुस्तै ल्याउने प्रयास गरेका छौँ, यसले उहाँहरुलाई जनकपुरे माछाको तलतल मेटाउने छ", उनले भने।
जनकपुर फिस हाउसमा विभिन्न क्षेत्रका पाहुनालाई सेफ आफैले पकाएर खुवाउँदै थिए। उनका अनुसार यहाँ माछाका विभिन्न परिकारको खान पाइन्छ। उपस्थित पाहुनाले माछाको स्वाद निकै मीठो भएको प्रतिक्रिया दिएका थिए। उनीहरुले माछाका पारखीका लागि नक्सालको जनकपुर फिस हाउस प्रमुख गन्तव्य बन्नेमा विश्वास व्यक्त गरे।
जनकपुरमा जस्तै मोटो तावामा, सर्सिउँको तेलमा तारेको माछालाई धेरैले मन पराउनेमा सेफ साह विश्वस्त छन्। फिस हाउसमा ओपन किचन हुनेछ। सेफ सन्तोषको यो काममा उनका दाजु सेफ दिलीपले साथ दिएका छन्। सन्तोषलाई हस्पिटालिटी क्षेत्रमा भित्र्याउने दिलीपसँग नेपाल, भारत र मध्य अमेरिकाका हस्पिटालिटी क्षेत्रमा काम गरेको साढे तीन दशक लामो अनुभव छ।
सेफ दिलीपका अनुसार फिस हाउसमा करिब दश प्रकारका माछाका परिकार पाइनेछ। स्पेशल तावा फिस, सानो जनकपुरी मुरी र मुलाको अचारसँगै चाख्न पाइनेछ। ट्राउट, झिँगे माछा, फिस चिली, फिस सेट जस्ता परिकारहरू पनि उपलब्ध छन्। सबै परिकारहरू जनकपुर र मिथिलाको पारम्परिक स्वाद र शैलीमा तयार पारिन्छन्।
जनकपुर फिस हाउसमा पेय पदार्थ पनि सुलभ मूल्यमै उपलब्ध गराइएको सेफ सन्तोष साहको भनाइ छ। यसअघि सेफ शाहको ‘मिथिला थाली’ देशभर निकै लोकप्रिय बनिसकेको छ। मिथिला थालीको शाखा जनकपुरसँगै काठमाडौँको नक्साल गैरीधारा, गौशाला र झम्सिखेलमा विस्तारित छ।