३१ आश्विन २०८२ , शुक्रबार

बालुवा र धुलोको आँधीले विश्वभर गम्भीर समस्या निम्त्याउँदै, करोडौं मानिस प्रभावित

News
२९ असार, काठमाण्डौँ ।

जलवायु परिवर्तनका कारण तीव्र बनेको बालुवा र धुलोको आँधीले विश्वभर गम्भीर स्वास्थ्य र वातावरणीय समस्या निम्त्याएको छ। संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को एक प्रतिवेदन अनुसार, यसले १५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदै सन् २०२५–२०३४ लाई यस समस्यासँग लड्ने दशकका रूपमा घोषणा गरेको छ। महासभाका अध्यक्ष फिलेमोन याङले यी आँधीहरूलाई जलवायु परिवर्तन, भूमिको क्षरण र अस्थिर अभ्यासहरूद्वारा सञ्चालित भई विश्वव्यापी चुनौतीको रूपमा औंल्याएका छन्।

डब्लुएमओका महासचिव सेलेस्टे साउलोले यी आँधीहरूको प्रभाव दृश्यतामा मात्र सीमित नभई जनस्वास्थ्य, कृषि, यातायात र नवीकरणीय ऊर्जा स्रोतहरूमा समेत गम्भीर असर पारेको बताएका छन्। बालुवा र धुलोको आँधीबाट हावामा हुने कणहरू श्वासप्रश्वास र हृदय रोगका कारण हुने वार्षिक ७० लाख समयपूर्व मृत्युसँग जोडिएको याङले जानकारी दिए। यसले बालीको उत्पादन २५ प्रतिशतसम्म घटाउनुका साथै भोकमरी र बसाइसराइलाई बढावा दिन सक्छ।

संयुक्त राष्ट्रसङ्घका लागि डब्लुएमओका प्रतिनिधि लौरा प्याटरसनका अनुसार वार्षिक रूपमा दुई अर्ब टन धुलो वायुमण्डलमा छोडिने गरेको छ, जसमध्ये ८० प्रतिशतभन्दा बढी उत्तरी अफ्रिका र मध्यपूर्वका मरुभूमिबाट उत्पन्न हुन्छ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव रोला दश्तीले मध्यपूर्व र उत्तरी अफ्रिकामा मात्रै बालुवा र धुलोको आँधीसँग जुध्न वार्षिक रूपमा एक खर्ब ५० अर्ब अमेरिकी डलर खर्च हुने गरेको बताए। यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको २.५ प्रतिशत हो। इराकमा आँधीका कारण अस्पतालहरू बन्द भएका छन् भने कुवेत र इरानमा विद्यालय र कार्यस्थलहरू प्रभावित भएका छन्। सहारा मरुभूमिबाट निस्कने धुलो क्यारेबियन र फ्लोरिडासम्म पुग्ने गरेको छ।

नेचरमा प्रकाशित एक अध्ययन अनुसार, अमेरिकामा धुलो र हावाको क्षरणबाट हुने क्षति सन् २०१७ मा एक खर्ब ५४ अर्ब अमेरिकी डलर पुगेको छ, जुन सन् १९९५ को तुलनामा चार गुणा बढी हो। डब्लुएमओ र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बढ्दो स्वास्थ्य सङ्कटको चेतावनी दिँदै सन् २०१८ र २०२२ को बीचमा विश्व जनसङ्ख्याको आधा नजिक अर्थात करिब ३ अर्ब ८० करोड मानिस डब्लुएचओ सुरक्षा स्तरभन्दा माथिको धुलोको सघनताको सम्पर्कमा आएको बताएका छन्।