२८ आश्विन २०८२ , मंगलवार

चितवनमा २५ हजारभन्दा बढी घरपरिवार बाढी पहिरोको जोखिममा, सतर्कता अपनाउन आग्रह

News
२७ असार, काठमाण्डौँ ।

चितवनका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ। बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्याङ्कले देखाएको छ।

बाढीका कारण हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए। "नदी किनारामा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै, उद्धारका लागि सबै संरचना तयारी अवस्थामा राखिएको छ र आवश्यक खाद्यान्न, स्वास्थ्य सामाग्री, उद्धार सामाग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ", उनले भने।

पौडी खेल्ने क्रममा किशोरको मृत्यु

बुढी राप्ती खोलामा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका— ९ का अन्दाजी १५ वर्षीय अनमोल लम्साल रहेका छन्। बुधबार साथीसँग पौडी खेल्न गएका उनी खोलामा बेपत्ता भएका थिए।