विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज भानु जयन्तीको अवसर पारेर ‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ आयोजना गरिएको छ। चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयको आयोजनामा भएको महोत्सवले मन्दिर परिसरलाई कला र साहित्यको संगमस्थल बनाएको थियो।
चर्चित कलाकार मुकेश श्रेष्ठसहित भक्तपुरका विभिन्न कलाकारले मन्दिर परिसरमा रहेका धार्मिक, ऐतिहासिक सम्पदाहरुको चित्र क्यानभासमा उतारेका थिए। कलाकारले मनोहरा फाँट, सरस्वती मन्दिर, रानीझुला, बाँस्तोला गाउँको होमस्टे लगायतका दृश्यलाई जीवन्त रूप दिएका थिए।
त्यसैगरी, राष्ट्रियस्तरका वरिष्ठ कवि एवं साहित्यकारहरूले चाँगुनारायणका सम्पदाहरुलाई कवितामा उतारेका थिए। पहिलोपटक मन्दिर पुगेका धेरै साहित्यकारहरूले कुन सम्पदाको कविता कोर्ने भन्ने छलफलसँगै मन्दिरको सेरोफेरोमा बाँधिएर कापीमा कलम चलाएका थिए। डा सुलोचना मानन्धर, पुरु लम्साल, स्नेह सायमी, श्रवण मुकारुङ, नारायण श्रेष्ठ, गीता त्रिपाठी, मणि लोहनी, अभय श्रेष्ठ, सन्ध्या पहाडी, राधिका कल्पित, हरिहर तिमिल्सिना, डा. सरोज धिताल, विमला तुम्खेवाले कविता वाचन गरेका थिए। उहाँहरुले चाँगुनारायण मन्दिर, ज्योतिर्लिङेश्वर, मत्स्यनारायण, नगरकोट भ्याली भ्यू, विष्णु नारायण, तामाङ समुदायको सांस्कृतिक नृत्य, त्रिशूल, रानीझुला, महामञ्जुश्री, वाल्मिकेश्वर, मुहानपोखरी, बोझिनी ड्याम, बाँस्तोला गाउँ होमस्टे, सरस्वती मन्दिर, मनोहराफाँट लगायतका सम्पदामा कविता सिर्जना गरेका थिए।
मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले पहिलोपटक चाँगुनारायण कला र साहित्यको मिलन बिन्दु बनेर उत्सव मनाउँदा खुसी लागेको बताए। यस्ता कार्यक्रमले सम्पदाको पहिचान बढ्ने र पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ थियो।
नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले भ्रमण वर्षमा चाँगुनारायणमा नौवटै वडामा रहेका सम्पदास्थलमा पर्यटक पुर्याउने लक्ष्य रहेको बताए।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति भूपाल राईले इतिहास, धर्म, कला, संस्कृति र सम्पदालाई कलाकारको कुची र साहित्यकारको कलमले उतार्ने कार्यले कला र साहित्यलाई बडो उत्साह मिल्ने बताए।
चाँगुनारायण मन्दिरलाई लिच्छवीकालीन राजा हरिदत्त वर्माले ईसापूर्व ३२३ मा निर्माण गरेको इतिहासमा उल्लेख छ। ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले उत्कृष्ठ मानिएको उपत्यकामा रहेको सात विश्व सम्पदा सूचीमध्ये चाँगुनारायाण पनि एक हो।