वैदेशिक रोजगारीको सिलसिलामा वर्षौं बिताएका चितवन खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले अहिले माछापालनमा आफ्नो भविष्य देखेका छन्। विदेशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गर्ने अठोटका साथ माछापालन सुरु गरेका अर्यालले वार्षिक ७० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।
सुरुमा साथीभाइले माछापालन गरेको देखेर प्रभावित भएका अर्यालले १३ वर्षअघि पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन थालेका थिए। सुरुवाती दिनमा केही कठिनाइ भए पनि उनले यसलाई व्यवसायिक रूप दिए। २०७३ सालमा उनले चार बिघा जमिन थपेर ६ प्रजातिका माछा पाल्न थाले। हाल चार बिघा क्षेत्रफलमा फैलिएको पोखरीमा उनले विभिन्न जातका माछा हुर्काइरहेका छन्।
अर्यालका अनुसार वार्षिक एक करोड ५० लाख रुपैयाँ बराबरको माछा बिक्री हुन्छ। दाना, विद्युत लगायतका खर्च कटाएर वार्षिक ७० लाख रुपैयाँभन्दा बढी नाफा हुने गरेको उनले बताए। उनको फर्ममा वार्षिक दुई सय टनभन्दा बढी माछा उत्पादन हुन्छ।
आधुनिक प्रविधिको प्रयोग र बजार व्यवस्थापनमा ध्यान दिएका अर्यालले उत्पादन गरेका माछा चितवनसहित काठमाडौं, पोखरा, बुटवललगायतका शहरमा बिक्री हुने गरेका छन्। माछापालनले उनको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ। यसै आम्दानीबाट उनले थप जमिन जोडेका छन्, घर बनाएका छन् र अब गाडी किन्ने योजनामा छन्।
अर्यालले माछापालन व्यवसायबाटै आफ्ना तीन छोराछोरीलाई चितवनको महँगो बोर्डिङ स्कुलमा पढाएका छन् भने ६ जनालाई रोजगारी पनि दिएका छन्। भविष्यमा यसलाई एग्रो टुरिजमको रूपमा विकास गर्ने उनको योजना छ। यसका लागि उनले कागती खेतीमा पनि लगानी गरेका छन्।
श्रीमान्–श्रीमती मिलेर माछापालनमा खटिएका अर्यालले अन्य इच्छुक किसानहरूलाई तालिम र सल्लाह दिने गरेका छन्। सन् २००५ मा मलेसिया र २००८ मा दुबईमा गरी करिब चार वर्ष वैदेशिक रोजगारीमा बिताएका अर्यालले त्यहाँ सोचेजस्तो नभएपछि स्वदेशमै केही गर्ने निर्णय गरे। सुरुमा परम्परागत खेतीमा लागे पनि भरतपुरमा माछापालन फस्टाएको देखेर उनी यसमा आकर्षित भएका थिए।
सुरुवाती दिनमा माछापालनबारे ज्ञान नहुँदा समस्या झेल्नुपरेको अनुभव उनीसँग छ। तर, बिस्तारै यसको बारेमा बुझ्दै गएपछि सहज भएको उनको भनाइ छ। हाल चितवनमा सरकारीस्तरबाटै माछाका भुरा उत्पादन हुन थालेपछि किसानहरूलाई सहज भएको छ।
अर्यालले माछापोखरीमा करिब दुई करोड रुपैयाँ लगानी गरेका छन्। जग्गा भाडामा लिएर माछापालन गरेका अर्यालको २८ कठ्ठा जमिन आफ्नै छ। चितवनमा अहिले १५ सयभन्दा बढी किसान माछापालनमा संलग्न छन्।
अर्याल राज्यले दाना र बिजुलीमा छुट दिएमा नेपाली माछापालन किसान अझ अगाडि बढ्न सक्ने बताउँछन्। उनले भारतबाट अवैध रूपमा माछा आयात हुँदा नेपाली किसान मारमा परेको गुनासो पनि गरे। अवैध माछा आयात रोक्न सके नेपाली उत्पादनले बजार पाउने उनको भनाइ छ। माछा व्यवसायी सङ्घ चितवनका उपाध्यक्षसमेत रहेका अर्यालले यस विषयमा पहल गरिरहेको बताए।