२८ आश्विन २०८२ , मंगलवार

जुम्लामा ७० मेगावाटको जलविद्युत् आयोजना बन्ने, प्रि-फिजिविलिटी अध्ययन सुरु

News
१ बैशाख, काठमाण्डौँ ।

जुम्ला जिल्लामा ७० मेगावाटको जलविद्युत् आयोजना बन्ने तयारी भइरहेको छ । जिल्लाको तिला नदीमा ७०.३७ मेगावाटको विद्युत् आयोजनाका लागि प्रि-फिजिविलिटी अध्ययनको काम थालिएको छ । नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ सेवा निर्देशनालयले अध्ययन गरिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरण जवा तिला अर्धजलाशययुक्त जलविद्युत् आयोजना, नेपाल विद्युत् प्राधिकरण, इन्जिनियरिङ सेवा निर्देशनालय वातावरण तथा सामाजिक अध्ययन विभाग लाजिम्पाट काठमाडौँले जारी गरेको सूचनामा ७०.३७ मेघावाटको वातावरणीय प्रभाव मूल्यांकन निर्धारणसम्बन्धी सार्वजनिक सूचनाको प्रस्ताव गरिएको छ । आयोजनाले ऊर्जाको माग उच्च रहेको बेलामा समेत पिकिङ्ग रन अफ दि एयरको रूपमा दैनिक ६ घण्टा विद्युत् उत्पादन गर्नेगरी निर्माण गरिनेछ । जुम्ला जिल्लाको तिला गाउँपालिका रारालिहीको पद्दुखोला स्थानमा १८ मिटर अग्लो तथा ५७.५० मिटर लामो बाध निर्माण गरिने छ । बाधबाट ६.४२३ किमी लामो सुरुङमार्फत पानी नाग्ममा रहेको विद्युत् गृहमा खसाइने छ ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक नसिबमान प्रधानले प्रि-फिजिविलिटी अध्ययनको काम भइरहेको बताए । जुम्लालाई केन्द्र बनाएर अगाडि बढाउन लागिएको उनले जानकारी दिए । अब यो आयोजना अगाडि बढाउन वातावरण प्रभाव मूल्याङ्कनपछि डिजाइन स्टमेट तयार गरि स्रोत सुनिश्चितालगायत विभिन्न चरणमा काम गरेर अगाडि बढाउने लक्ष्य रहेको छ । माओवादीका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीले जुम्लामा निर्माण हुने ठुलो जलविद्युत् आयोजनाले प्रदेशलाई नै फाइदा पुग्ने बताएका छन् ।

यसैबीच कर्णालीका धेरै जलविद्युत् आयोजना अध्ययनकै चरणमा छन् । अहिलेसम्म ठुलो आयोजना सञ्चालनमा छैनन् । माथिल्लो कर्णाली जलविद्युत् आयोजना बन्ने आसमा कर्णाली नदी भारतीय कम्पनीले होल्ड गरिरहेको छ । संशोधित संरचनाअनुसार अब यस आयोजनामा जिएमआरको ३४ र सतलजको ३४ प्रतिशत गरी बराबर सेयर स्वामित्व हुनेछ ।